‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौं,असोज ३ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७)को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसंघले विश्वभर जलवायु परिवर्तनका कारण मानवीय संकट शुरू भएको बताएको छ । यो अवस्थामा नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्न योजना बनाइने बताउँदै आएका छन् । यसै आधारमा सो मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिने काम शुरू गरेको छ ।
मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले संकटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिए । उनका अनुसार संकटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा कस्तो असर पर्छ भन्ने विषयमा अध्ययनका लागि तथ्य–तथ्यांक जुटाउने र विश्लेषण गर्ने काम थालिएको छ । जलवायु संकटकाल घोषणा गरेपछिको अवस्थाबारे अध्ययन गरी जानकारी लिन मन्त्रालयले प्राविधिक टोली पनि तयार गरिरहेको बताइएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न संघसंस्थाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भन्दै निरन्तर सचेत गराइरहेका छन् ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका विषयमा तथ्यांक राख्ने अन्तरराष्ट्रिय संस्था ‘जर्मनवाच’का अनुसार नेपाल अहिले जलवायु परिवर्तनका कारण उच्च जोखिम भएका देशमध्ये दशौं स्थानमा पर्छ । संकटकाल नै घोषणा गर्न भने हतार गर्न नहुने अधिकांशको भनाइ छ । तथ्यमा आधारित प्रमाणसहित जलवायु संकटकाल घोषणा गर्न आवश्यक रहेको यसका विज्ञ तथा मन्त्रालयका कर्मचारीको भनाइ छ । यद्यपि जलवायु परिवर्तनकै कारण अहिलेसम्म कति हानिनोक्सानी भयो भन्ने यकीन तथ्यांक नेपाल सरकारसँग छैन । त्यसैले संकटकाल घोषणापछि त्यसको कार्यान्वयनको योजना बनाउनुपर्ने आवश्यकता रहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।
नेपालले लामो समयदेखि पर्यावरणीय र जलवायुजन्य समस्या भोग्दै आएकोमा सरकारले कोप–२७ को तयारीका क्रममा संकटकाल घोषणाका विषयमा सरोकारवाला निकाय र विज्ञसँग छलफल गरिरहेको छ । वन तथा वातावरणमन्त्री यादवले नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायत सबै क्षेत्रमा देखिने गरी जलवायु परिवर्तनको असर परिरहेकाले जलवायु संकटकाल घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको दाबी गर्दै आएका छन् ।
हालसम्म विश्वका ३९ देशले जलवायु संकटकाल घोषणा गरेका छन् । जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना वर्षेनि दोहोरिइरहेको छ । यस्तै अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो लगायत समस्याका कारण ठूलो क्षति भइरहेको छ । साथै पछिल्ला केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेश तथा पहाडमा खानेपानीका स्रोत सुक्ने समस्या पनि बढेका छन् ।
जलवायु संकटकाल घोषणा गर्ने खास मापदण्ड नभए पनि यसको संवेदनशीलता मनन गरी घोषणा गर्नुपर्ने विज्ञहरूको राय छ । आर्थिक अभियानबाट