सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बासिन्दा दूषित पानी पिउन बाध्य



सिन्धुपाल्चोक,असोज ३ । सरकारले सबै नागरिकलाई खानेपानीको सहज व्यवस्था गर्ने प्रतिबद्धता जनाएको लामो समय भइसक्यो । तर पनि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बासिन्दा स्वस्थ पिउने पानीबाट बञ्चित छन् । वैकल्पिक मुहान नहुँदा यहाँका  करिब डेढ सय परिवार धानखेतको दूषित पानी पिउन बाध्य छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पाकु र पाङार्पुका बासिन्दा स्वस्थ पानी पिउनबाट बञ्चित छन् । पानीको समस्या समाधान गर्न न स्थानीय तहले चासो देखाएको छ न खानेपानी डिभिजन कार्यालयले नै । पानीको मुहान सफा गर्न र ट्यांकी निर्माणमा कसैले पनि तदारुकता नदेखाउँदा पाकु र पाङार्पुबासी प्रदूषित पानी पिउन बाध्य भएका हुन् ।

खानेपानीको मुहान बाढीले बगाएपछि पाकुका करिव दुई सय र पाङार्पुका ३६ घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट वञ्चित छन् । वैकल्पिक मुहान नहुँदा खेतमा गाईवस्तु र रासायनिक मल मिसिएको पानी उपभोग गर्दै आएका छन् । 

मुहान बनाउन र पानीको सहज आपूर्ति गर्न स्थानीय तहले चासो दिएको छैन । प्रदूषित पानी प्रयोग गर्दा विभिन्न संक्रामक रोग लाग्ने स्वास्थ्यकर्मी बताउाछन् ।

खानेपानी तथा सरसफाइ सब-डिभिजन कार्यालयलाई मुहानमा के कति क्षति भएको छ भन्ने जानकारीसम्म छैन । न त स्थानीय तह नै यसबारे जानकार छ । सरोकारवाला निकाय नै स्थानीयका समस्यामा बेखबर रहँदा यहाँका बासिन्दा वर्षायाममा पनि अशुद्ध पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्