२२ किलो गाँजा सहित इच्छाकामनाका १ र आँबुखैरेनीका २ गरि ३ जना पक्राउ
आँबुखैरेनी,असोज ५ । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट २२ किलो अवैध लागुऔषध गाजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन इच्छाकामनाका १ जना र तनहुँ आँबुखैरेनीका २ जना रहेका छन्।
आज बिहान करिब ६ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले बेनिटारमा चेकजाँच गर्ने क्रममा काकडभिट्टाबाट पोखरा तर्फ जान आउदै गरेको मे १ ख ३१९५ नं. को बसको सिटमुनी लुकाई छिपाई ल्याएको २२ किलो १ सय ८५ ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बस्ने ३५ वर्षकी जगमाया गुरुङ, सोही स्थानकी १९ वर्षीया सुस्मिता गुरुङ र चितवन इच्छाकामना गाउँपालिका ५ बस्ने वर्ष २९ को अतित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुलाई सम्मानित अदालतबाट ४ दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

