रुपन्देही देवदहमा नगर अस्पताल सञ्चालनमा आयो

रुपन्देही,असोज १० । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर १० शय्याको नगर अस्पताल सञ्चालन गरिएको हो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । सोमबार अस्पताल उद्घाटन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्वास्थ्य उपचारको लागी अव नगरबासीलाई सहज हुने बताए ।
आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । नगर प्रमुख खरेलले सबै नगरवासीलाई सहजरुपमा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने घोषणा गरे ।
नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदहमा नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने बताए । नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिने छन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने छ।