यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं,असोज १३ । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेजदेखि केचना-कञ्चनजंगा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउनेसम्मका निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार (आज) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।
बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने, कास्कीस्थित करुवा सेती जलविद्युत् आयोजना ३२ मेगावाट तथा गोरखास्थित मध्यपुर सुपर दरौदी खोला जलविद्युत् आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको उनले जानकारी दिए ।

