काठमाडौं महानगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं,कात्तिक २ । काठमाडौं महानगरपालिकामा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौं महानगरपालिका राजस्व विभागले महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकाले महानगरले उक्त नियम ल्याएको हो ।
विभागले आज एक सूचना जारी गर्दै व्यवसाय दर्ताबारे जानकारी दिएको छ । दर्ता नै नगरी व्यवसाय सञ्चालन भएका व्यवसाय सूचना जारी भएको ३० दिनभित्र अर्थात् कार्तिक १ गते देखि ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न महानगरले अनुरोध गरेको छ ।
महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।
साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२÷०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुल गरिने समेत महानगरले जनाएको छ ।