तिहारमा प्लास्टिकका फूलगुच्छा र माला बेच्न नपाईने, बिक्री गरे १ लाखसम्म जरिवाना



काठमाडौं,कात्तिक ३ । प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गरे १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले बिहीबार सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न सुझाव दिएको छ ।

कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

सरकारले यसअघि नै सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको थियो । तिहारमा सरकारले प्लास्टिकका उत्पादन बिक्री र खरिदमा कडाइ गर्न लागेको हो ।

सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको थियो । तर, तिहार र छठ नजिकिएसंगै बजारमा प्लास्तिकजन्य फूलमालाहरु बिक्रीका लागि राखेको देखिएको छ ।

सोही कारण वातावरण विभागले सार्वजनिक सुचना निकालेर तिहार र छठजस्ता पर्वहरुमा प्लास्तिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ ।

अनुगमनका क्रममा निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्