नेपाली युवालाई विश्वव्यापी उचाइमा पुग्न सघाउने वाचा माइक्रोसफ्टले दोहोर्यायो

काठमाडौं,कात्तिक ४ । नेपाली युवालाई विश्वको उचाइमा पुग्न मद्दत गर्ने आफ्नो वाचा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले पुनः दोहोर्याएको छ । माइक्रोसफ्टको २०२२ परिकल्पना कप जुनियर एआईका विश्वका शीर्ष १० विजेतामा पर्न सफल नेपाली समूह अराइजलाई उनीहरूको अभूतपूर्व उपलब्धिका लागि सम्मानित गर्न काठमाडौंमा आयोजित माइक्रोसफ्ट पार्टनर कनेक्ट नामक समारोहमा माइक्रोसफ्टले टेवा दिने कुरा दोहोर्याएको हो ।
यो वर्षको शुरूमा कृत्रिम बौद्धिकताको शक्ति प्रयोगमा विश्वले सामना गरिरहेका समस्याहरू समाधान गर्न विश्वभरबाट आएका १३ देखि १८ वर्ष उमेरका हजारौं विद्यार्थीसँग अराइजका अमोद पौडेल, आयुश बन्जाडे, विवश बस्नेत र शलिनकुमार धितालले प्रतिस्पर्धा गरेका थिए । अराइजले पेश गरेको एआईमा आधारित अन्तरक्रियात्मक समाधान विजयी प्रस्तुतीकरणमध्ये एक थियो ।
यसमा शारीरिक अक्षमता भएका व्यक्तिका लागि केमेष्ट्री ल्याबका उपकरणमा पहुँच प्रवद्र्धन गर्न अराइजले मोशन र अगुमेन्टेड रियालिटीको प्रयोग गरेको थियो । सो प्रस्तुतीकरणको माइक्रोसफ्टको दक्षिणपूर्वी एशिया नयाँ बजार नेतृत्व टोलीले प्रशंसा गरेको थियो । आवश्यक निर्देशन र टेवा पाएमा नेपालका युवा नवप्रवर्तकहरूको जमात विश्वको उचाइमा पुग्न सक्छन् भन्ने अराइजको जितले देखाएको छ ।