तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध

काठमाडौं,कात्तिक ४ । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा रोक लगाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाका अनुसार तिहारमा शहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको छ ।
१५ प्रतिशत सयपत्री फूल भारतबाट आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी कार्यक्रममा बोल्दै विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए ।
उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको पनि दाबी गरे । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भन्दै उनले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको बताए ।
उनले नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको दाबी गर्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताए । तर उनका अनुसार १० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहन्छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए ।
पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या पनि बढेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने बताएको छ ।
गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । तिहारको पाँच दिनमा करिब २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ ।
नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो भने यस वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।