उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा
काठमाडौँ,कात्तिक ५ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो ।
उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडिओ अहिले हटाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ ।
टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडिओलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ । त्यसका लागि आयोगले केही सर्तहरू पनि राखेको छ । आयोगका सर्तहरू यस्ता छन् ।
१. भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ ।
२. भिडिओ संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडिओलाई प्राथमिकता दिइनेछ ।
३. भिडिओ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडिओ बनाउन सकिनेछ ।
५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडिओ पठाउन सकिने छ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडिओ स्वीकार गरिनेछ ।
६. प्राप्त भिडिओहरूमा आयोगको अधिकार रहनेछ। भिडिओ सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ ।
७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडिओहरू स्वीकार गरिने छैन ।
८. उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
९. उत्कृष्ट भिडिओहरूमध्ये छनोट समितिको सिफारिसमा रु। ५०,०००।– पचास हजार पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ ।
१०. भिडिओ २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडिओहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।

