अर्घाखाँचीलाई नमुना जिल्ला बनाउँछौं : आचार्य
अर्घाखाँची,कात्तिक ७ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि काम गरेको बताएका छन् ।
नेकपा एमाले द्वारा सन्धिखर्क-८ किमडांडाको विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उनले आफुहरु सांसद भएपछि जिल्लाको बिकासको निम्ति धेरै काम गरेको बताए ।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहेका उनले अहिले गाउँ गाउँमा मोटर बाटो पुर्याएको,मुख्य मुख्य सडकहरु पीच गर्ने काम भैरहेको ,घरघरमा पिउने पानीका धारा लैजाने काम भैरहेको ,प्राविधिक विद्यालय स्थापना गरेको ,विद्युत् लाईनमा काठका पोल विस्थापित गरेको ,ठुलाठुला सिंचाइका योजना संचालनमा ल्याएको ,पर्यटन र कृषिको माध्यमबाट स्वरोजगारी सिर्जना गरेको उनको भनाइ थियो ।
नेकपा एमालेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.-१ (क) बाट प्रदेश सभाको निम्ति उम्मेदवार बनेका उनले आसन्न निर्वाचन नेकपा एमालेले जित्नेमा आफू विश्वस्त रहेको बताउदै चुनाव जितेपछि पनि सधै जनतालाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका नेता भरत पौडेल ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य नारायण अर्याल ,युवराज बन्जाडे,कमल प्रसाद भट्टराई ,देवी थापा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

