यो वर्ष थेगी नसक्नु भयो झिनियाँको माग, एक्कासी कसरी दोब्बर भयो माग ?



पाल्पा,कात्तिक ९ । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै भएर थेगी नसक्नु भएको व्यवसायीहरूले बताएका छन् ।

दशैं शुरू भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरू बताउँछन् ।

पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्‍याउँनै नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठले बताइन् ।

रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाकी पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछन् ।

‘एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ’ व्यवसायी श्रेष्ठले भनिन्,’यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्‍याउन कठिन परिरहेको हो ।’ 

लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट पनि माग यही आउने गर्दछ । घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ ।

पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आएकी छन् । यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ ।

यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन १०० रुपैयाँमा फुटकर र होलसेल ९० रुपैयाँमा धमाधम विक्री भइरहेको छ ।

अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।

 उनी भन्छन्, ‘उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा  र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ’, । व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दशैं र तिहारमा गरेर झिनियाँबाट करिब ६ लाख रुपैयाँ बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनकोे अनुभव छ ।   

 पहिला बजारमा झिनियाँ अहिलेजसो प्रर्याप्त मात्रामा पाइँदैनथ्यो । घर घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर, हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजस्तो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरीद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

रामपुर ४ बस्ने फूलमाया विक पहिला घरमा आफैले झिनियाँ बनाउने गरेपनि हिजोआज भने बजारबाटै किनेर प्रयोग गर्छन् । भनेको समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झण्झट गर्नु नपरेको उनको भनाइ छ । 

निस्दी गाउँपालिका– ५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरीद गरेर व्यापार गर्ने गरेको बताउँछन् । रामपुर– ४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उनलाई पत्तो छैन । 

‘बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पुर्‍याउँनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ’ लक्ष्मीले भनिन् ।

विगत ६ वर्षदेखि यस व्यवसायमा आवद्ध उहाँ यस पटकको तिहारमा १ लाख बराबरको व्यापार हुने बताउँछन् ।

घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र विक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको उनले बताइन् । 

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ ।

घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समयमा पनि उत्पादन भएको झिनियाँ भण्डारण गरेर बजारमा पठाउन सकिन्छ । 

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ ।

बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन् । यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार बाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । 

चामलको पिठो पकाएर मेसिनको सहायताले झिनियाँ बनाइ सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइन्छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्