बङ्गलादेशले नेपालसँग विद्युत् खरीद गर्ने

काठमाडौं,कात्तिक ९ । बङ्गलादेशले नेपालसँग विद्युत् खरीद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले कात्तिक ८ गते गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले ५० मेगावाट विद्युत् खरीद गर्ने जनाएको हो ।
सन् २०४० सम्म बङ्गलादेशले कूल ९ हजार मेगावाट बिजुली खरीद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने सहमति पनि गरिसकेको छ ।
शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले बताएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए ।