शास्त्र अनुसार यसरी लगाइन्छ भाइटीका ? सप्तरंगी टीकाको अर्थ यस्तो



काठमाडौँ,कात्तिक १० । यमपञ्चकको विशेष र अन्तिम दिन कार्तिक शुक्लद्वितीया हो । बिहीबार परेको यस दिन कयौँलाई भाइपूजा कसरी गर्ने भन्ने अन्योल भएको पाइन्छ । भाइ पूजा कै लागि भनेर शास्त्रमा विशेष पूजाको उल्लेख गरिएको छ । कार्तिक शुक्लद्वितीयको दिन प्रातः समयमा उठेर आफ्नो शौच स्नानादि नित्यकर्मको समाप्ती गरेसँगै भाईटीकाको सुरुवात हुने गर्छ । त्यसपछि पूजा गर्ने सम्पूर्ण सामग्री आफ्नो समीप ल्याएर भाइपूजा गर्ने स्थानमा आई शुद्ध आसनमा बसेर कर्मपात्र निर्माणसहित प्रतिज्ञा सङ्कल्प गर्नु पर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

नियमानुसार दीप, कलश, गणेशको पूजा गरी यमको प्राणप्रतिष्ठा गर्नको निमित्त सानो पीठको निर्माण गर्नुपर्ने विधि छ । प्राणप्रतिष्ठा गरिएको पीठमा आह्वानम्, आसनम्, पाद्यमादि षोडशोपचारले यमको पूजा गर्नु शास्त्रले निर्दिष्ट गरेको छ । यमको पूजा गरिसके पश्चात् यमको दूतलाई प्रार्थना गर्दै स्मरण गर्नु पर्ने नियम छ । यमको दूतपछि बहिनी, यमुनाको प्रार्थना गर्ने र उनकी सहयोगीलाई पनि स्मरण गर्दै प्रार्थना गर्नु पर्ने विधि शास्त्रमा बताइएको छ ।

यमको पूजा सकी नवग्रहसहित पाञ्चायन देवताको जे उपलब्ध छ, त्यसैबाट पूजा गर्नुपर्छ । त्यसपछि धूप,दीप, नैवेद्य चढाउनु पर्छ । यति गरिसके पछि मार्कण्डेयसहित बलि, व्यास, हनुमान, विभीषण, कृपा, दौण र परशुरामलाई सम्झी प्रार्थना गर्नुपर्छ । अष्टचिरञ्जीवीको प्रार्थना गरिसकेपश्चात् पुनः यमुनाको स्तुति गर्नुपर्ने उल्लेख गरिएको छ ।

यम र यमुनाको पूजा गरिसकेपछि भाइपूजा गर्नुपर्छ । त्यसका लागि पहिले आफ्नो दाजुभाइको दीर्घायु, धन, निर्भय, निरोग्य, सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस् भनी प्रार्थना गर्नुपर्ने शास्त्रोक्ति रहेको छ । लोकानुसार भाइको जीवन रक्षार्थ ढोकामा ओखर फुटाई यम आगमनको निषेधार्थ यमको बाटो छेकिन्छ । यसरी फुटाइएको ओखरले भाइमा कुनै बाधा अड्चन नआउने जनविश्वास रहेको छ । तिहारले नेपाली समाजमा आपसी सदभाव र भाइचारा स्थापित गर्न ठूलो भुमिका खेलेको छ ।

यसै गरी यमराजको प्रतीकको रूपमा रहेको बिमिरोको पूजा गर्ने चलन पनि छ । केही मौलिकपन पनि मिसिएको यो पर्वमा दाइ र भाइ बसेको स्थानमा पानी,तेल र दुबोले सात घेरो हालेर रेखा कोरिन्छ । त्यसै गरी दिदीबहिनीले दाजुभाइको निधारमा लगाईदिने सप्तरंगी सात टीकाको पनि विशेष अर्थ रहेको छ । सेतो शान्ति, रातो मङ्गल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी, निलो निरोगिता, सुन्तला धैर्यता र प्याजी निर्भयको प्रतीकको रूपमा रहेकाले पनि सप्तरंगी टीकाको महत्वलाई विशेष बनाएको छ ।

टीका लगाइसके पश्चात् सगुन स्वरूप दाजुभाइलाई दही खुवाइदिने चलन छ । दाजुभाइको स्वास्थ्यको ख्याल राखी फलफूल, मिष्टान्न, रोटीको विभिन्न परिकार दिने दिदीबहिनीलाई लक्ष्मी, सरस्वती ब्राह्मीको स्वरूप मानेर सप्तरङ्गी टीका लगाइदिने र दक्षिणा, वस्त्र दान गरी तृप्त पार्नुपर्ने बताइएको छ । यसरी सबैको पूजा गरी अन्त्यमा पुनः यमको स्तुति गर्दै अघ्र्य चढाई हामीले गरेको पूजामा केही गल्ती भएको भएमा क्षमायाचनासहित भाइपूजा सम्पन्न गर्ने विधि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्