जोशीको १३ औं पुण्यतिथिमा प्रधानमन्त्री : ‘उनीबाट सिकेर देश विकासमा लागि पर्छु’
नेपाल भाषालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन लागि पर्छु : पर्यटनमन्त्री
काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेका कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।
स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई ‘देशलाई माया गर्ने सच्चा देशभक्त’ व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए ।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए ।
जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गरे ।
प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए ।

