लामो पुलमा आगन्तुकको भीड
बागलुङ,कात्तिक १३ । फुर्सद निकालेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । शुरूमा कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।
५६७ मिटर लामो उक्त झोलुंगे पुलले बागलुङ नगरपालिका–१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।
पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुंगाना बरालले बताइन् । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उनको भनाइ छ ।
कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिंगल स्पाम’तर्फ देशकै लामो यो झोलुंगे पुल १६५ मिटर अग्लो छ ।
बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौं पर्यटकको भीड लाग्ने गरेको बताए । ‘कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला शहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरू पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’
छेउमै रहेको शहीद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उनको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताए ।

