कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप
दमौली,कात्तिक १३ । कोभिड–१९ को संक्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । कोभिडका बेला बन्दीपुरमा विदेशी त परको कुरा, स्वदेशी पर्यटकको आगमन समेत ठप्प रह्यो । कोभिड संक्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहत महसुस हुन थाल्यो । अहिले भने बन्दीपुरको पर्यटन व्यवसाय पुन: पुरानै अवस्थामा फर्किन थालेको छ । कोभिडपछि पहिलोपटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहार र छठको बिदाका कारण बन्दीपुरमा पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।
‘बन्दीपुरमा विदेशी पर्यटक देख्न मुश्किल भइसकेको थियो, शुक्रवार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्,’ प्रधानले भने, ‘स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।’ विदेशी पर्यटकको सहभागितामा शनिवार बन्दीपुरमा दौड प्रतियोगिता आयोजना भएको छ । प्रधानका अनुसार शुक्रवार र शनिवार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । ‘तिहार र छठको बिदाका कारण पनि बन्दीपुर घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्,’ उनले भने, ‘दशैं बिदामा पनि उल्लेख्य संख्यामा आएका थिए ।’
जाडो याम शुरू भएसँगै बन्दीपुरमा पर्यटकीय चहलपहल थप बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । होटल व्यवसायी वसन्त पौडेलले अब बन्दीपुरमा पर्यटक आगमन बढ्ने बताए ।
बन्दीपुर आउने विदेशी पर्यटकमा फ्रान्स र बेलायतका बढी छन् । चिनियाँ पर्यटकको संख्या भने शून्यप्राय: छ । ‘पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटकको आगमन ठप्प छ,’ होटल व्यवसायी पौडेलले भने, ‘अहिले यूरोपेली पर्यटक बढी आएका छन् ।’ नेपाल आएका पर्यटक पोखरा, सौराहालगायत ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेको उनले बताए ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ ।

