अस्ताउँदो सुर्यलाई अर्घ्य दिदैं मनाइयो छठ पर्व



काठमाडौं,कात्तिक १३ । छठ पर्वको मुख्य दिन आइतबार साँझ देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँ मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको थियो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

आज कठोर निराहार व्रत गरी साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिई  मनाइएको हो । कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । वाग्मती प्रदेशको हेटौंडासहित विभिन्न स्थानमा समेत छठ पर्व मनाइएको छ । राप्ती खोलाको किनारमा छठ पर्व मनाइएको हो । छठ पुजा समारोह समितिले राप्ती खोलाको किनारमा पुजा र अर्घ्य दिनका लागि आवश्यक तयारी गरिएको थियो ।

छठ पर्व हेर्न र पुजा गर्ने हजारौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहेको मुल समारोह समितिका अध्यक्ष सुशीलकुमार बानियाँ (गुड्डु)ले बताए । पर्वको अवलोकन गर्न विभिन्न राजनितिक दलका प्रमुख, जनप्रतिनिधिहरु, आगामी निर्वाचनका उम्मेदवारहरु लगायत मकवानपुरका विभिन्न स्थानबाट छठ पर्व अवलोकन गर्न पुगेका थिए ।  

कोरोना पछि यसै वर्ष पर्वको रौनकतामा वृद्धि भएको आयोजकले जनाएको छ । पुजागर्न भन्दा पनि सामाजिक सञ्जाल टिकटक बनाउने, तस्विरहरु लिनेको जमात भने बढी रहेको देखिन्थ्यो । छठ पर्वमा युवा पिडीहरुको उपस्थिती बाक्लो रहेको थियो । हजारौं संख्यामा अवलोकनकर्ताको भीड रहेकाले जिल्ला प्रहरी कार्यालय देखी स्नान स्थल सम्म नेपाल प्रहरीले कडा सुरक्षा र सवारी साधन आवतजावतमा सघाइरहेका थिए ।  

प्रतिक्रिया दिनुहोस्