कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै



भैरहवा,कात्तिक १४ । भैरहवाको लायन्स क्लब अफ लिगेसीले कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थ नगर सांस्कृतिक मेला २०७९’ आयोजना गर्ने भएको छ । स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत हुने आयोजकले जानकारी दिएको छ ।

भैरहवाको हनुमान मन्दिर परिसरमा हुने उक्त मेला २७ गतेसम्म चल्ने आयोजकको भनाइ छ । मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।

कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारको उपस्थिति हुने आयोजकले बताएको छ । २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकम अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गरिने कार्यक्रम संयोजक राजन शुक्लले बताए । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार पाँच सय ५५ रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार पाँच सय ५५ रुपैयाँ, तृतीयलाई १० हजार पाँच सय ५५ रुपैयाँ र पाँच हजार पाँच सय ५५ रुपैयाँको सान्त्वना पुरस्कार प्रदान दिइने उनले जानकारी दिए । मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिता पनि आयोजना गरिने भएको छ । कार्यक्रममा प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्