दार्चुलामा उर्लियो जनसागर, भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याएरै छाड्ने ओलीको अठोट



दार्चुला,कार्तिक १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको बताएका छन् । शुक्रबार दार्चुलामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालले आफ्नो भू–भाग एक इन्च पनि नछोड्ने र मिचिन नदिने स्पष्ट पारे ।

आगामी निर्वाचनबाट एमालेको सरकार गठन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याएरै छाड्ने बताएका छन् । उनले विगत ६० बर्षदेखि कालापानी क्षेत्रको नेपाली भू–भागमा बस्दै आएको भारतीय सेना फिर्ता जानुपर्ने बताए । ओलीले महाकाली नदी भारतसँगको सिमाना रहेको र नदी सर्दै जाँदा सीमा पनि सर्दै जाँदैन भन्दै दार्चुलामा महाकाली पहिले बग्ने गरेको ठाउँमा भारतले बाँध बाध्न नहुने स्पष्ट गरे ।

नदी सर्यो कि सीमा सर्यो होइन, यस्ता कामलाई नेपाली जनताले थिचोमिचोका रुपमा बुझ्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘ठूलो भारतले सानो चित्त गर्ने होइन । उनले दार्चुलाको सदरमुकाम खलङ्गा बजारलाई महाकालीको बाढीबाट सुरक्षित राख्न तटबन्ध बनाउने ग्यारेण्टी गरे ।

उनले भने,देशको रक्षा, विकास र जनताका समस्याको समाधान पाँच छ दल मिलेर बनेको सरकारले गर्न सक्दैन । यिनीहरुले मिचिएको नेपाली भूभाग फिर्ता ल्याउन पनि सक्दैनन् । त्यो काम राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेले मात्र गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्