नुवाकोटमा हरिवोधनी एकादशी: बाजागाजासहित बेहुली झैँ ल्याइएका फूलको डोली तारिए



नुवाकोट,कात्तिक १८ । धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको शिवपुरी गाउँपालिका र पन्चकन्या गाउँपालिकाको सीमाक्षेत्रको पुण्यभूमि त्रिवेणी धाममा हरिवोधनी एकादशीको अवसरमा स्थानीयको भीड लाग्यो।वैदिक विधिअनुसार बाजागाजा र भजनकीर्तनसहित फूलको डोली लिएर स्थानीयको उपस्थिति रहेको थियोे । स्थानीयका अनुसार गतवर्ष भन्दा फूलसहितको डोरी तार्ने स्थानीयको संख्यामा भने कमि आएको थियोे ।

गत वर्ष भन्दा उल्लेख्य स्थानीयको उपस्थिति रहेको यस् वर्षको मेलामा झ्याउरे र लोकोन्मुख खैचडीभाकामा बाटोभरी नाचगान गर्दै आाएको लावालस्कर हेर्न लायकको थियोे । फूलका डोली घुम्टो ओढेर सजिएकी बेहुलीसँगै आएका जन्ती झैँ देखिन्थे ।

स्थानीय एक युवाले पछिल्लो समय लोप हुँदै गएको एकादशीको पर्व उजागर गर्दै हाम्रो परम्पराअनुसार पुण्यप्राप्तिका लागि फूलको डोली लिएर आएको बताए ।फूलसहितको डोरी नदीमा तार्दा पाप नष्ट हुने र मरेपछि वैतरिणी तर्ने जनविश्वास रहदै आएको छ । विधिपूर्वक डोली तार्दा मात्रै फल प्राप्त हुने भएकाले स्थानीयले पण्डितलाई साथै ल्याई खोलाका किनारमा पुजापाठ समेत गरेका थिए ।

पण्डित भरतप्रसाद अधिकारीका अनुसार एकादशीको दुई दिनदेखि चोखो बसेका स्थानीयद्वारा एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने चलन छ । त्यही दिन बेलुका सत्यनारायणको पूजा हुन्छ । रातभरी समुदाय जाग्राम बसेर महादीप निभ्न दिँदैनन् । हरिबोधिनी एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरु उनेर त्यसैलाई डोलीमा राखी ल्याई नदी तार्ने परम्परा छ । त्यही विधि पूरा गरेर डोली तार्न ल्याएको स्थानीयहरु बताउँछन् । डोली ल्याउँदा अग्रभागमा फूलको मालाले सजाइएको छत्रसँगै महादीप बालिन्छ । चर्चित त्रिवेणी धाममा स्थानीय समूहका केही महिलाहरु तेल थप्दै ननिभाइकन महादीप ल्याउन समेत सक्रिय देखिन्थे । 

कतिपय ब्रतालु अघिल्लो दिन नै त्रिवेणीधाममा आएर जाग्राम भई पूजापाठ गर्ने परम्परा समेत विगतमा चलिआएको छ । पछिल्लो समय त्रिवेणी धाम गाउँपालिका र केन्द्रिय सरकारको आर्थिक पहलमा विभिन्न आकर्षक खड्कलेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, उत्तरी र दक्षिणी भूभागमा चित्ता, वृद्ध सेवा आश्रम,पुल पुलेसा निर्माण, मध्य भागमा लिखु खोलाको कलकल वहावसंगै चिट्टिक्क सिंगारिएको छ। यहाँको चार नदीको संगम स्थलमा निर्मित मन्दिरमा दिनभर जसो भक्तहरुको ठूलो भीड लागेको थियो । डोली नल्याउनेहरुले टपरीमा पूजासामग्री ल्याएर बत्ती बाल्दै पूजापाठ गरी नदीमा बगाएका थिए । त्रिवेणी धाम सुधार समितिका अध्यक्ष लिलादेवी थापाका अनुसार भजन मण्डल निर्माणले पूर्णता पाउने बित्तिकै नियमित भजनकिर्तन समेत सो धाममा हुनेछ।

यता लिखु गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगम स्थलमा रहेको राक्क्षेश्वर धाममा पनि यस वर्ष फूलको डोली ल्याउने संख्यामा वृद्धि भएको छ । नुवाकोटको एक चर्चित धामको रुपमा लिएको यस धाममा थानापती, थान्सिङ, कविलास क्षेत्रको गाउँगाउँबाट बाजागाजा र भजनकीर्तनसहित फूलको डोलीको लावाजस्कर लागेको थियोे। केहि वर्षदेखि सुनसान प्रायः हुने यी धामहरुमा ठुलो एकादशीको दिन भक्तजनको बाक्लो उपस्थिति रह्यो । गाउँगाउँबाट दर्जनौँ फूलको डोली ल्याएर नदी तारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्