सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ : ओली



काठमाडौं,कार्तिक १९ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिने बताएका छन् । शुक्रबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले आफू यसपाली मात्र नभई २०५० साल बैशाखमा वैतडीमा रहेको बताउँदै दार्चुला र बैतडीका समस्याका बारेमा आफू जानकार रहेको बताएका थिए। उनले भने,‘यहाँको झुलाघाटमा पक्की पुल बनाउने जिम्मा म लिन्छु । महाकाली करिडोर सुविधाका साथ दार्चुला पुग्ने गरी तयार हुन्छ ।यहाँका खनिज पदार्थको सदुपयोग गरिने छ । मेरो नेतृत्वको सरकारका पालामा खानी विकासको काम प्रक्रिया अगाडि बढाइँदै थियो । पार्टीभित्रका मधुकैटवहरु उफ्रिएपछि सरकारबाट बाहिरियौं र काम अधुरो रह्यो । ती काम पनि अगाडि बढाइने छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटाको मेडिकल कलेज सञ्चालन नगरी डडेलधुराको गन्यापधुरामा मेडिकल कलेज खोल्ने कुरा गरेको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भने,‘मेडिकल कलेज गेटामै सञ्चालनमा ल्याइने छ । त्यहाँ पूर्वाधार निर्माण समेत भइसकेको छ । डडेलधुरामा राम्रो अस्पताल बनाइने छ ।’ उनले सुदूरपश्चिमका क्याम्पसहरुलाई सरकारले सञ्चालन खर्च व्यहोर्ने गरी सामुदायिक क्याम्पसमा परिणत गर्ने काम आफू प्रधानमन्त्री रहेको समयमा गरेको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्