नुवाकोटको तामाङ बस्ती पुगेर नेतृ तामाङले भनिन् – ‘राङ्ला चामे ता भोट युसुगो’
नुवाकोट,कात्तिक २३ । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ अन्तर्गत लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार राधिका तामाङले विभिन्न बस्तीका नागरिकसंग चुनावी भेटघाटलाई तिव्रता दिलाएकी छिन् ।
मतदाता भेटघाटका क्रममा बुधबार तादी गाउँपालिकाको विभिन्न बस्तीका नागरिकसंग भेटघाट गर्दै आफ्नो भावी योजना र स्थानीयबीच छलफल गरेकी हुन् ।
तामाङ बाहुल्यता भएको तादीका माथिल्लो भूभागमा पुगी नेतृ तामाङले आफ्नै भाषामा भावी योजना बारे जानकारी गराएकी थिइन् । नेतृ तामाङले तामाङ भाषामा ‘राङ्ला चामे ता भोट युसुगो’ (तपाईंको चेलीलाई भोट दिनुहोस्) भन्दै प्रस्तुत भएपछि स्थानीय तामाङ भाषी नागरिक हर्षित भएका थिए ।
नेतृ तामाङसंगै रहेका नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत नेकपा (माओवादी केन्द्र) का उमेदवार हितबहादुर तामाङले पनि तामाङ भाषामा आफ्नो मन्तव्य राखेका थिए । भोट माग्न आफ्नै घर घरमा आएका नेतालाई फूलमालाले स्वागत गर्न स्थानीय उत्साहित देखिन्थे । पछिल्लो घटनाक्रम हेर्दा नेताद्वयले जातीय भोट समेत बढाउने निश्चित प्रायः देखिन्छ ।

