रामपुरमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु



चितवन,कात्तिक २५ । भरतपुर महानगरपालिका–१५ रामपुरस्थित कृषि क्याम्पस अगाडि बिहीबार म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार स्याङजाका २४ वर्षीय नविन नेपाली र मोटरसाइकल चालक भरतपुर–५ बस्ने ४० वर्षीय यज्ञ शर्मा रहेका छन् ।

बिहीबार साँझ ७ः२५ बजेको समयमा भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले भरतपुरतर्फ आउँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका म्याजिकमा सवार नेपालीको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक शर्माको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राति ८ः१२ बजेको समयमा मृत्यु भएको उनले बताए । म्याजिकमा सवार भरतपुर–२० बस्ने वर्ष २० का आशिष नेपालीको पुरानो मेडिकल कलेज र मोटरसाइकलको पछाडि सवार भरतपुर–५ बस्ने वर्ष ३९ को श्याम खरेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले म्याजिक चालक, म्याजिक र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्