बीपी कोइरालाकी नातिनी अभिनेत्री मनीषा कोइराला राप्रपामा ! ‘राजनीतिक वृत्तमा तरङ्ग’
काठमाडौं,कात्तिक २६ । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् ।
शुक्रवार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेन (Rajendra Linden) को नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाई थियो ।
अभिनेत्री कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइराला (BP Koirala) को विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने उनको तर्क छ ।
‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो ।’ उनले भनिन्, ‘त्यो कुरा सुन्दा मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो ।’
अरुले बीपीलाई विर्से पनि राजेन्द्र लिङदेनले बीपीलाई सम्झिएको भन्दै उनले लिङ्देनको प्रशंसा गरिन् ।
‘तपाईंहरूलाई थाहा छ कि छैन ? धेरै पहिला बीपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरूले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।’ उनले अगाडि भनिन्, ‘अहिले त्यस्तै मौका तपाईंहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन ।’
अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन् ।
सामाजिक सञ्जालमा पक्ष/विपक्षमा प्रतिक्रिया
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकै नातिनी राप्रपामा खुलेपछि अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।
साधक अमर पुरुष नाम गरेका युवाले सामाजिक सञ्जालमा लेखेका छन् ‘यस्ता दिन पनि आए, कांग्रेसले प्रचण्डपथ बोकेर हिडेपछी वीपी मार्गलाइ जोगाउन वीपीकी नातिनी मनिषा कोइराला राप्रपालाई सपोर्ट गर्न आउनुभएको छ । आज १० बजे पोखराको पृथ्वीचोकको सभामा सम्बोधन रहेको छ । सम्पूर्ण न्यायप्रेमी,राष्ट्रवादी प्रजातन्त्रवादी जनसमुदायमा हार्दिक निमन्त्रणा छ ।’
सन्तोष घिमिरे नाम गरेका ट्विटर प्रयोग कर्ताले लेखेका छन् ‘राप्रपालाई भोट माग्दै मनीषा दिदी – बीपी बुबाको बाटोमा राजेन्द्र लिङदेन हिँड्नुभयो, अरुले बिर्से। एक सचेत नागरिक’
प्रश्न नामक ट्विटर ह्यान्डलबाट प्रश्न गरिएको छ ‘राप्रपाको वीपीवाद के कस्तो होला त? राप्रपामा वामपन्थीवाद नि छ कि छैन होला ? 🤔🤔 खै के खै के बुझ्नै गाह्रो। हैन्त?’

