उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट पनि विज्ञापन गर्न पाउने, के छ यसमा व्यवस्था ?



काठमाडौं,कात्तिक २६ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे निर्णय गरेको जनाएको छ । अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्नु उपयुक्त देखिएकाले यस्तो निर्णय गरिएको आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता २०७९ को दफा १५ मा भने राजनीतिक दल वा उम्मेदवारहरूले  टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाबाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । 

दल वा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन वा प्रशारण गर्न पाइने निर्णय गरिए पनि यसको सीमा तोकिएको छ । आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री प्रशारण गराउन सक्नेछन् । 

यस्तै, राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चार माध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्नेलगायत निर्णय गरिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस्