अमेरिकी ‘करेन्सी वाचलिस्ट’बाट हट्यो भारत, नेपाली मुद्रा बलियाे



काठमाडौं,कात्तिक २८ । अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारू) लाई ‘करेन्सी वाचलिस्ट’बाट हटाएपछि भारूसँगै नेपाली रुपैयाँ बलियो भएको छ । यो क्रम अझै जारी रहने विश्लेषकहरूको भनाइ छ । 

भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर छ । भारूकै आधारमा नेपालमा अमेरिकी डलरको मूल्य तय हुने गरेको छ । यसैकारण भारू कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ । 

करेन्सी वाचलिस्टबाट हटेपछि डलरको तुलनामा भारतीय रुपैयाँ बलियो हुँदै गएको छ । यो क्रम अझै जारी रहने विश्लेषकहरू बताउँछन् । वाचलिस्टबाट हटेलगत्तै भारू बलियो हुँदा नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर १ सय ३३ रुपैयाँ पुगेकोमा घटेर १ सय २९ रुपैयाँ कायम भएको छ । 

गत साताभरमा डलरको तुलनामा भारू २ प्रतिशत बलियो बनेको छ । तर, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले अपेक्षा गरिएभन्दा थोरै ब्याजदर बढाउने सम्भावना प्रबल भएपछि शुक्रवार एकै दिन डलरको तुलनामा भारूको भाउ १ दशमलव २३ प्रतिशतले बढेर ८० दशमलव ८१ रुपयामा पुगेको छ । शनिवार र आइतवार अन्तरराष्ट्रिय मुद्रा बजारमा कारोबार बन्द हुने भएकाले वाचलिस्टबाट हटेको प्रभाव भारूमा देखिन अझै बाँकी छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार १ अमेरिकी डलरको विनिमय दर १ सय ३१ रुपैयाँ २० पैसा निर्धारण गरेकोमा शनिवार र आइतवारका लागि १ सय २९ रुपैयाँ ५८ पैसा तोकेको छ । 

अर्थशास्त्री नरबहादुर थापाले अमेरिकाको करेन्सी वाचलिस्टबाट भारत हटेसँगै भारू बलियो भएको र त्यसको प्रभाव नेपाली मुद्रामा परेको बताए । अमेरिकी डलर कमजोर हुँदा नेपालको व्यापारघाटा र मुद्रास्फीतिमा सकारात्मक प्रभाव पर्छ । पछिल्लो समय डलरको मूल्यवृद्धिकै कारण चर्को महँगीको सामना गरिरहेका आम उपभोक्तालाई राहत मिल्छ । रेमिट्यान्स आयमा भने घाटा हुने थापा बताउँछन् । रेमिट्यान्सको हिसाब डलरका आधारमा हुने हुँदा डलर महँगो हुँदा बढी र सस्तो हुँदा कम रकम पाइन्छ । 

दुई वर्षपछि अमेरिकाले मुद्रा बजारमा चलखेल गर्ने देशहरूको सूचीबाट भारतलाई हटाएको हो । अमेरिकाले इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामलाई पनि सूचीबाट हटाएको छ । अमेरिकाले कुनै पनि देशले आफ्नो मुद्रा बजारमा गर्ने अभ्यास र मुद्रासम्बन्धी समष्टिगत नीतिका आधारमा आफ्नो व्यापार साझेदारलाई यो सूचीमा राख्ने गरेको छ । 

सूचीबाट बाहिरिएसँगै भारू बलियो हुने भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । यसबाट भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले विनिमय दरलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न बलिया उपाय अपनाउने बाटो दिएको छ । 

हालैका महीनामा मुद्रा बजारमा डलर बलियो बन्दा भारू दबाबमा परेको थियो । पटकपटक डलरको तुलनामा भारूको भाउ कीर्तिमानी न्यूनस्तरमा ओर्लिएको थियो । त्यसले गर्दा नेपाली रुपैयाँ पनि इतिहासमै कमजोर भएको थियो । 

अमेरिकाले व्यापारमा फाइदा लिन आफ्नो मुद्रालाई जानीजानी कमजोर बनाउनेलगायत अनुचित अभ्यास गर्ने, मुद्रा बजारमा चलखेल गर्ने देशलाई वाचलिस्टमा राख्ने गरेको छ । यसरी मुद्रा कमजोर हुँदा निर्यात सस्तो भई उक्त देशमा उत्पादित सामानको माग बढ्छ । 

तीनओटामध्ये एउटा मात्रै मापदण्ड पूरा गर्ने देशलाई सूचीबाहिर राखिन्छ । यो सूचीमा अमेरिकाले सधैंझैं यस वर्ष पनि चिनियाँ युआनलाई राखेको छ । चीनले विदेशी विनिमय बजारमा गरेको हस्तक्षेप प्रकाशमा नल्याएको र विनिमय दर संयन्त्रमा पारदर्शिताको अभाव रहेको भन्दै उसलाई अमेरिकाले निगरानीमा राख्ने गरेको छ । सूचीमा जापान, कोरिया, जर्मनी, मलेशिया, सिंगापुर र ताइवानी मुद्रा पनि छन् । 

दुईपक्षीय व्यापारमा १२ महीनाको अवधिमा अमेरिकाले कम्तीमा २० अर्ब डलर घाटा बेहोरेको छ । उसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा चालू खाता बचत २ प्रतिशतले बढी भएको छ । मुद्रा बजारमा एकपक्षीय रूपमा लगातार हस्तक्षेप गर्ने देशहरूलाई पनि अमेरिकाले यो सूचीमा राख्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्