नुवाकोट पञ्चकन्यामा कृषकको खेतको माटो परिक्षण, एक सय बढीको एकैदिन संकलन

नुवाकोट, कात्तिक २८ । जिल्लाको पञ्चकन्यामा कृषकको खेतको माटो परिक्षण गरिएको छ । आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका कृषकको खेतको माटो परिक्षण गरिएको हो ।
माटो परिक्षणमा एक सय बढी किसानको खेतको माटो संकलन गरिएको छ । लामो समयदेखि उब्जनी घट्दै गइरहेको समयमा माटो परिक्षणको मौका पाएपछि स्थानीय कृषक हर्षित भएका छन् ।
माटो परीक्षणका लागि पञ्चकन्या गाउँपालिकाको कृषि शाखा, वडा नम्बर ५ कार्यालय र ग्रामीण स्वाबलम्बन विकास केन्द्रले सहजीकरण गरेको वडा नम्बर ५ का सामाजिक परिचालक सन्तोष सिटौलाले बताए ।
सिटौलाका अनुसार पञ्चकन्या गाउँपालिकाका कृषि शाखाका प्राविधिक दुर्गा न्यौपाने, ग्रामीण स्वाबलम्बन विकास केन्द्रका फिल्ड कोर्डिनेटर साधुराम सापकोटा, पञ्चकन्या गाउँपालिकाका जेटिए रोशन भट्टराई, दिनेश गौतमलगायत प्राविधिकको सहभागिता रहेको थियोे ।
यस क्षेत्रमा पछिल्लो समय अन्न फस्टाएको तुलनामा उत्पादन कम हुँदै आएको थियोे । माटो परिक्षण पश्चात् माटोमा पिएच (१-५) अम्लीय, पिएच ७ उपयुक्त र पिएच ७.५ क्षारीय के कस्तो छ किसानले थाहा पाउनेछन । एनपिके नाइट्रोजन फस्फोरस र पोटास को मात्रा किसानको खेतबारीमा उच्च मध्यम न्युन कस्तो छ भन्ने थाहा पाएपछि माटोको उपचार सम्भव हुने प्राविधिकहरुले बताएका छन् ।