नुवाकोट भद्रुटारका किसान ४ किलो मलका लागि दिनभर लाइनमा



नुवाकोट, कात्तिक २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका किसान ४ केजी मलका लागि दिनभर लाइनमा बस्नुपरेको छ ।

आइतबार स्थानीय भेडाबारीमा रहेको आधारसिला सामाजिक उद्यमि महिला सहकारीबाट मल पाउने खबर पाएपछि स्थानीय कृषकको भीड लागेको थियोे ।

कोटामा प्राप्त युरिया र डिएपी मल स्थानीय सहकारीबाट वितरण हुने खबर सुनेपछि किसानको भीड लागेको स्थानीय अगुवा कृषक कबिता कडेलले बताइन् ।

कडेलका अनुसार उक्त सहकारीलाई ६० बोरा युरिया र २० बोरा डिएपी मल प्राप्त गरेको थियोे । प्राप्त मल समानरुपमा किसानलाई भाग लगाइएको थियोे । २५० जना भन्दा बढी कृषकलाई समानरुपमा ४ किलो डिएपी र १५ किलो युरिया मल वितरण गरिएको हो ।

किसान गहुँ तथा आलु खेतीका लागि ब्यस्त भएको समयमा प्रयाप्त मलको अभाव भएपछि चिन्तित बनेका छन् । उता शिवपुरी गाउँपलिका वडा नम्बर ८ मा समेत प्रयाप्त मल आउन नसकेको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्