देश विकास गर्ने बागडोर अब युवा पुस्ताको हुनुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं,कात्तिक ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए ।
ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको दाबी गरे । उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।
विकासको अभियान बढाउन एमाले चाहिन्छ
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विकासको अभियानका लागि एमाले चाहिने पनि बताए । गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’
देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहेका ओली मंगलवार ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटीका चुनाववी सभालाई सम्बोधन गरेका थिए ।
नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल र ३ मा अमृत खड्का उम्मेदवार छन् ।

