पर्यवेक्षकको सुझावका आधारमा मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको छ: प्रमुख आयुक्त थपलिया
काठमाडौं,मंसिर २ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शकरूपमा ग्रहण गर्ने स्पष्ट गर्दै निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरूपमा पर्यवेक्षण गरिदिन आग्रह गरे । उनले आयोगको क्षमताले भ्याएसम्म मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको तथा मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको उल्लेख गरे ।
प्रमुख आयुक्त थपलियाले यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

