उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदान केन्द्र छन् ? सबैभन्दा धेरै भक्तपुरमा ११५ केन्द्र
काठमाडौं,मंसिर ३ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतवार देशभर एकै चरणमा मतदान हुँदैछ ।
प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल २ हजार चार सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार एक सय ८७ महिला गरी कूल २ हजार एक सय ९९ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ २ हजार नौ सय ४३ पुरुष, दुई सय ८० महिला र एक अन्य गरी कूल ३ हजार दुई सय २४ तथा समानुपातिकतर्फ दुई हजार एक सय ९७ पुरुष र एक हजार पाँच सय ११ महिला गरी कूल ३ हजार सात सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् ।
आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यकामा मात्रै पाँच सय २७ मतदानस्थलमा १ हजार दुई सय ७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौंमा तीन सय २० मतदानस्थल र सात सय ६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौं २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौं ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौं ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौं ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौं ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौं ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौं ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौं क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।
यस्तै ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा एक सय पाँच मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र एक सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र एक सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
काठमाडौंमा ३ लाख १५ हजार दुई सय ५४ पुरुष, ३ लाख ३६ हजार आठ सय ६४ महिला र आठ अन्य गरी कूल ६ लाख ५२ हजार एक सय २६ मतदाता रहेको छन् ।
ललितपुरमा १ लाख २२ हजार दुई सय ७४ पुरुष, १ लाख २८ हजार एक सय ३५ महिला र एक अन्य गरी २ लाख ५० हजार चार सय १० मतदाता छन् । भक्तपुरमा ९४ हजार छ सय ८३ पुरुष, ९९ हजार सात सय ५१ महिला र पाँच अन्य गरी कूल १ लाख ९४ हजार चार सय ३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।

