भ्रामक समचारप्रति प्रेस काउन्सिलले गर्यो ध्यानाकर्षण



काठमाडौं,मंसिर ३ । केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति काउन्सिलले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सामाजिक सञ्जालमा फैलाइएका सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा कुनै समाचार सम्प्रेषण नगरेको जवाफ प्राप्त भएको र कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेको काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ । काउन्सिलले चुनावमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन सबैसँग अनुरोध गरेको छ ।

स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने स्मरण गराउँदै काउन्सिलले चुनावलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न हुने वातावरण बनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्