आचारसंहिता उल्लंघनका घटना कम : निर्वाचन आयोग
काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघनका घटना विगतको तुलनामा कमै मात्र भएको बताएको हो ।
आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्र आचारसंहिता उल्लंघन भएको बताए । आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारले लापरबाही गर्न सक्ने भएकाले आयोगले सोही अनुरूप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको जानकारी उनले दिए ।
निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउन गौंडा गौंडामा विनाबर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहिता छल्ने प्रयास नगर्न चेतावनी दिए । आयोगलाई आचारसंहितामा कडाइ गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यसपटकको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता अपनाएको उनको भनाइ थियो ।
आयोगले आचारसंहिता कडाइबारे विभिन्न राजनीतिक दल र नेताहरूसँगको छलफलपछि नै निर्णय लिएको उनले बताए । आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरी यसपटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको उनले स्मरण गराए ।
आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन हुन नसक्ने भन्दै उनले आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको बताए ।
आचारसंहिता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने उनले बताए ।
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरूलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने कामबाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । आम नागरिकलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधिबाहेक अन्य कुनै काममा निषेध नगरेको उनको भनाइ छ ।
आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरे पनि यसपटकको निर्वाचनमा त्यस्ता कुनै पनि सामग्री छरपस्ट नरहेको बताए । आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमा समेत मितव्ययिता भएको दाबी उनले गरे ।
निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरूप बनाउने अधिकार कसैलाई नरहेको बताए । अभिव्यक्ति स्वतन्त्रता भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम कसैले गर्न नहुने उनले बताए ।
निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको स्वीकारे । आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भए पनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको उनले बताए । मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन नयाँ कानूनको निर्माण ग

