निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह



काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी गराए ।

निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा निर्धक्क भएर मतदान गर्न उनले आग्रह गरे । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिदेखि शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानून पालनामा आयोगले विशेष सतर्कता अपनाएको उनले बताए ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ । साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको उनले बताए । आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ ।

आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीलाई निर्देशन दिइसकिएको छ । सरकारले आयोगको सिफारिशसमेतका आधारमा यही मङ्सिर ४ र ५ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । निजी तथा गैरसरकारी क्षेत्रमा आबद्ध जनशक्तिले पनि सहजतापूर्वक मतदानमा सहभागी हुन सकून् भन्ने ध्येयले बिदाको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिसकिएको छ । मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई अवरोध पुर्‍याउनेलाई कानून बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको छ ।

‘मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदाताको बाटो वा गौडा छेक्ने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्नेलाई कानून अनुसार कारबाही हुन्छ,’ आयोगको निर्देशनमा भनिएको छ, ‘वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृजना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटकपटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्