२० औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज सम्पन्न : ‘नेपाल विश्वकै उत्कृष्ट जलपर्यटनको गन्तव्य’
काठमाडौं,मंसिर १६ । नेपाल एशोसिएशन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) को आयोजनामा ३ दिने साहसिक जलपर्यटनमा आधारित प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालको जलयात्रा पर्यटनको शुरुवात भएको त्रिशुली नदीको चितवनमा पर्ने फिस्लिङस्थित त्रिशुली नदी किनारमा ३ दिने प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न नदी तथा क्ल्बमा आवद्ध रहेका जलयात्रा गाइडहरू, सशस्त्र प्रहरी बलमा आवद्ध खेलाडिहरू र जापनिज खेलाडिहरू प्रतिस्पर्धीको रुपमा सहभागी भएका थिए ।
नेपालको पर्यटन उद्योगको प्रमुख श्रोतहरु मध्ये एउटा श्रोत सहासिक जलपर्यटन पनि हो । नेपालको पर्यटन उद्योगमा उच्च हिमश्रृंखला, वनजंंगल र पहाडहरुको जति नै जलपर्यटनको पनि महत्व रहेको नाराको भनाइ छ ।
भोटेकोशि, सुनकोशी र कर्णाली नदीहरु विश्वका उत्कृष्ट साहसिक जलयात्रामा पर्ने नदीहरूका कारण नेपाल संसारको उत्कृष्ट सहासिक जलयात्रा गन्तव्यको रुपमा पनि परिचित छ ।
हाल भारत, जापान, दुवई, अमेरिका, इटाली, टर्की, आइसल्याण्ड र वेलायत लगायतका मुलकहरूमा नेपाली रिभर गाईडहरू क्रियाशिल रहेको नाराले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै अन्य मुलुकहरुबाट समेत नेपाली रिभर गाइडहरूको ठूलो माग रहेको उसको भनाइ छ ।
यिनै विषयहरुलाई मध्यनजर गरि सहासिक जलयात्रा व्यवसायीहरुको एक मात्र छाता संगठन नाराले सन् २००२ देखि नियमितरुपमा नेपालमा अन्तरराष्ट्रियस्तरको साहसिक जलपर्यटन प्रतियोगिता गर्दै आएको छ ।
३ दिने प्रतियोगितामा विजेता खेलाडीहरूलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगर पुरस्कार वितरण गरिएको थियो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, नाराका अध्यक्ष शिव अधिकारी र विभिन्न गाउँपालिकाका अध्यक्षहरूले सहभागीलाई पुरस्कार वितरण गरेका थिए ।

