कोभिडअघिकै अवस्थामा फर्किंदै पुष्प व्यवसाय
काठमाडौं,मंसिर १९ । कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय सामान्य अवस्थामा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत् रूपमा सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालनमा आउँदा फूलको व्यापार कोभिडअघिकै स्थितिमा पुगेको सम्बद्ध व्यवसायीले बताएका हुन् ।
यस वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन र यही मङ्सिर ४ गते भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको बताइएको छ । विगत तीन वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । विभिन्न उत्सवमा फूलको बढी प्रयोग हुने गरेकोमा महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि घटेको थियो । त्यतिबेला दैनिक रू. एक करोडसम्मको नोक्सानी भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
कात्तिकदेखि फागुनसम्ममा विभिन्न चाडपर्व र विवाह पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्छ । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला मात्र भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अध्यक्ष तामाङले बताए ।
फूलको मागमा भएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिए । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको बताइएको छ ।
नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । एशोसिएशनले चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा रू. २० करोड बढीको फूलको कारोबार हुने अनुमान गरेको छ । चालू आर्थिक वर्षमा रू. २ अर्ब ५० करोड बराबरको फूलको व्यवसाय हुने आकलन गरिएको हो ।
महामारीकै कारण विगतका वर्षमा कारोबारको लक्ष्य हासिल नभएको एशोसिएशनले बताएको छ । हालकै अवस्थामा व्यवसाय भए यस वर्ष लक्ष्य हासिल गर्न सकिने अपेक्षा गरिएको छ । नेपालमा विसं २००७ देखि शुरू भएको पुष्प व्यवसायमा शहरीकरणको विकास तथा विस्तारले समेत टेवा पुगेको व्यवसायी बताउँछन् । आर्थिक अभियानबाट

