चोलेन्द्रलाई अदालत प्रवेशमा रोक लगाउन प्रहरी तैनाथ, वकिललाई जुत्ता प्रहार गरेपछि तनाव
काठमाडौं,मंसिर २२ । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि लगाइको महाअभियोग प्रस्ताव निष्क्रिय पारेपछि सर्वोच्च अदालतमा तनाव सिर्जना भएको छ । एक महिलाले वकिललाई जुत्ता प्रहार गरेपछि तनाव सिर्जना भएको हो ।
बुधवार महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि जबरालाई प्रहरीले अदालत गेटबाहिर नै रोक्ने प्रयास गरेको छ । अहिले अदालत बाहिर जबरालाई जसरी पनि रोक्ने र जसरी पनि प्रवेश गराउनेहरूको भीड लागेको छ । अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
आजै संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश चालेन्द्र समशेर जबरालाई पत्र पठाएर जबरामाथिको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी दिएका थिए ।
मंगलवार प्रधानन्यायाधीश जबराले संघीय संसद सचिवालयमा पत्र लेखी अघिल्लो संसदले सो प्रस्तावलाई नटुंग्याएको र नयाँ संसदसमेत आइनसकेको अवस्थामा निष्प्रभावी भएको जानकारी सम्बन्धित निकायलाई दिन अनुरोध गरे बमोजिम सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी सम्बन्धित व्यक्ति र सम्बन्धित निकायहरूलाई दिएको थियो ।

