राजस्वको कर्मचारी हौँ भन्दै पैसा असुली गर्ने नुवाकोटकी अञ्जनासहित ८ जना बसपार्कबाट पक्राउ



काठमाडौं,मंसिर २५ । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जनालाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकी अञ्जना तामाङ पनि रहेकी छिन् ।

आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्