‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम पुन: शुरू



वैदेशिक रोजगारमा ठगीसम्बन्धी गुनासा सबैभन्दा धेरै

काठमाडौं,मंसिर २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम पुन: शुरू गरेको छ । मङ्सिर ४ गते भएको चुनावका कारण स्थगित गरिएको सो कार्यक्रम आइतवारदेखि सुचारु गरिएको हो ।

आइतवार बिहान ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको उक्त कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरलाई देश र विदेशबाट श्रमिकहरूले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । कार्यक्रममा मन्त्री कुँवरसँग फोनमार्फत कुरा गर्दै १० जना श्रमिकले आफ्ना गुनासा र समस्या  राखेको मन्त्रालयले बताएको छ । श्रमिकले राखेका समस्या र गुनासो वैदेशिक रोजगारीका क्रममा ठगिएको सम्बन्धी सबैभन्दा धेरै छन् । सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर ७ लाख ५० हजार रुपैयाँसम्म लिएकोलगायत गुनासा उनीहरूले सुनाएका थिए ।

दुबई, मलेसिया, साउदी अरबलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएका गुनासा बढी आएका छन् । श्रममन्त्री कुँवरलाई सुर्खेतबाट फोन गर्दै एकजनाले आफूलाई क्यानडा पठाइदिने भन्दै करीब ६ लाख रुपैयाँ ठगेको गुनासो गरेका थिए ।

दशजना श्रमिकका गुनासा र समस्या सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व आफू जान लागेको देश, गर्नुपर्ने काम, पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिबारे राम्ररी बुझ्न, जानकारी लिन र कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्न आग्रह गरे । साथै श्रमिकका समस्या तत्काल समाधान गरिने उनले बताए । श्रमिकका समस्या र सवालबारे तत्काल बुझेर समाधानमा लाग्न उनले वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित पदाधिकारीलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्