नुवाकोटका तीन पत्रकार पुरस्कृत, दीर्घ सेवा सम्मानबाट आचार्य सम्मानित
नुवाकोट,मंसिर २६ । नुवाकोटका तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारमा कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिककी संगीता पनेरू रहेका छन् ।
साधारणसभाको अवसरमा पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र महिला पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु पुरस्कृत भएकी हुन् । पुरस्कृत तीन वटै पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ ।
११औं साधारणसभाको अवसरमा अर्का पत्रकार दिनेश आचार्य सम्मानित भएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार आचार्यलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी दीर्घ सेवा सम्मानबाट सम्मानित गरेका हुन ।
पत्रकार महासंघ नुवाकोटले ०७५ सालबाट नुवाकोटमा क्रियाशील पत्रकारहरूलाई सम्मान र पुरस्कृत गर्दै आईरहेको जिल्ला अध्यक्ष कपिलदेव खनालले बताए ।

