बालेनलाई चिरीबाबुको सुझाब : ‘शिवपुरी-गोदावरी साइकल लेन बनाउँ, र्यापिड ट्रान्जिट बस चलाउँ’
काठमाडौं,पुस १ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बूढानिलकण्ठ नगरपालिकाको टुप्पो शिवपुरीदेखि ललितपुरको दक्षिणी भेग गोदावरी नगरपालिकासम्म साइकल लेन विस्तार गर्न आग्रह गरेका छन् ।
ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई दक्षिणमा गोदावरी र उत्तरमा काठमाडौं महानगरपालिका हुँदै बूढानिलकण्ठ नगरपालिकाको शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरेका हुन् ।
बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले काठमाडौं महानगरले अब मेट्रो रेल वा र्यापिड बस ट्रान्जिट सिस्टम भएपनि सञ्चालन गर्नुपर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यान दिन काठमाडौंका मेयर बालेन शाहलाई सुझाएका छन् ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रस्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ । काठमाडौंले बूढानिलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्याउन पायौँ भने एकदमै राम्रो हुन्छ ।’
यसको निमित्त गोदावरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म साइकल लेन बनाउनको लागि बजेटको व्यवस्थापन समेत गरिसकेको भन्दै यसतर्फ विलम्व नगर्न पनि उनले सुझाब दिए ।
महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको पनि बताए ।
‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरूमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ ।’ उनले भने, ‘काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तरराष्ट्रिय अध्ययनले देखाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ ।’
उनले सार्वजनिक खरीद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए । सो ऐन स्थानीय पालिकाको लागि अफापसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे ।

