निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन परिणाम
काठमाडौं,पुस १ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणाम बुझाएको छ । बिहीवार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् ।
आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आयोगले बुधवार निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो ।
निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी, नेकपा एमालेले ७८ सिट, नेकपा माओवादी केन्द्रले ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनमत पार्टीले ६ सिट र लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याएको छ ।
२७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दल बनेको छ भने नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।
निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ जना तथा प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य एकजनाको धरौटी रकम जफत भएको हो । त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० ओटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशसभातर्फ भने प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ ओटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट प्राप्त गरी सात दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो, जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शून्य ६ प्रतिशत मत भने बदर भएको छ । त्यसैगरी, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको छ । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको आयोगले जानकारी दिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ ।
आयोगले प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी दिएको छ । त्यस्तै प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।

