प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जरिवाना



काठमाडौं,पुस १ । प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरेर सवारीसाधन सञ्चालन गरे एख लाख रूपैयाँ जरिवाना हुने भएको छ। वातावरण विभागले शुक्रबार (पुस १) गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई यो जरिवाना लगाउने भएको हो।

विभागले मंसिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्कासनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई शुक्रबारदेखि कारबाहीसहित जरिवाना गरिने विभागले जनाएको छ।

यस्तै विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरूस्त राख्न दिने गरेकोमा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्