नुवाकोट तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु



काठमाडौँ, पुष ४ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाह चुस्त हुने बताए ।

“नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन ।” उनले भने, “ जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यासमार्फत जनतालाई सेवा पुर्याउन पर्छ ।” उनले पूरा हुन बाँकी रहेको विदुर नगरपालिका–३ बाट तारकेश्वर हुँदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्कि पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल–पर्यटनको रुपमा विकास गर्नतर्फ प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

रु छ करोड ४२ लाखमा ठेक्का लगाइएको भवन सम्पन्न भएसँगै पालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न विषयगत शाखाको सेवा एकै भवनबाट प्रवाह गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्