विश्वका ६९ देशमा जान्छ नेपाली ऊनी गलैंचा, वार्षिक साढे ९ अर्बको निर्यात



काठमाडौं,पुस ५। आर्थिक वर्ष २०७८/७९ मा नेपाली ऊनी गलैंचा विश्वका ६९ देशमा निर्यात भएको छ । नेपालको प्रमुख निर्यातयोग्य वस्तुको रूपमा रहेको गलैंचा निर्यातबाट नेपालले साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । 

यसरी निर्यात हुने प्रमुख गन्तव्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य बेलायत लगायत छन् । कुल निर्यात हुने मध्ये आधाभन्दा बढी गलैंचा अमेरिकामा मात्रै निर्यात भएको छ । अमेरिकामा ५ अर्ब ५६ करोड ५९ लाख ५१ हजार रुपैयाँ बराबरको गलैंचा निर्यात भएको  छ ।

६९ देशमा निर्यात भएपनि त्यो मध्ये २७ देशमा मात्रै कम्तिमा १ करोड रुपैयाँभन्दा बढीको गलैंचा निर्यात भएको छ । बाँकी देशमा भने न्युनतम २८ हजार देखि ८१ लाख रुपैयाँसम्मको गलैंचा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले विगत लामो समयदेखि नै उनी गलैंचा विश्वका विभिन्न देशमा निर्यात गर्दै आएको छ । नेपालबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने वस्तुमा गलैंचा नै प्रमुख निर्यात योग्य वस्तु हो  ।

नेपालबाट निर्यात हुने वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरू, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरू, चाऊचाऊ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी लगायत पर्छन् ।

भटमास, पाम र सूर्यमुखी तेल भने सबै कच्चा पदार्थ आयात गरेर उत्पादन हुने वस्तु हुन् । निर्यातमा यी वस्तुको हिस्सा उच्च भएपनि स्वदेशी कच्चा पदार्थबाटै उत्पादन हुने भएकाले गलैंचा नै नेपालको मौलिक निर्यात योग्य वस्तु हो ।  

प्रतिक्रिया दिनुहोस्