क्रसर उद्योग बन्द : ८० प्रतिशत निर्माण कार्य प्रभावित
काठमाडौं,माघ ३ । गिट्टी बालुवाको मूल्य ह्वात्तै बढेको छ । देशमा विकास निर्माणको सिजन चलिरहँदा गिट्टी बालुवाको मूल्य उच्च वृद्धि भएको हो ।
कस्रर उद्योगहरुले उत्पादन अभाव देखाएर गिट्टी, बालुवा तथा ढुंगााको मूल्य बढाएका हुन् । गत पुस २० गते गृहमन्त्रलयले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । त्यसयता, गिट्टी बालुवा उत्पादन हुन सकिरहेको छैन ।
हाल देशभरका ६८८ क्रसर उद्योग बन्द भएका छन् । क्रसर उद्योग बन्द भएसँगै बालुवा–गिट्टीको मूल्य दोब्बर वृद्धि भएको हो । प्रतिटिपर चार हजार पर्ने गिट्टीको मूल्य ९ हजार रुपैयाँ पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
अहिले ढुवानीलगायतका शीर्षकमा हुने खर्चका आधारमा औसत मूल्यवृद्धि ३० प्रतिशत हाराहारी पुगेको छ । क्रसर उद्योगहरुले उत्पादन कम देखाएर गिट्टी, बालुवा र ढुंगाको मूल्य बढाएका हुन् ।
यसअघि गिट्टी र बालुवाको स्रोतदर प्रतिटिप २५ सय रुपैयाँ हाराहारीमा रहेको थियो । तर, अहिले ८ हजार रुपैयाँसम्म पु¥याइएको छ । गिट्टी र बालुवा उपभोक्ताको घरमा आइपुग्दा भने अझै दोब्बर पर्न जाने बताइएको छ । मंसिरमहिनादेखि जेठसम्मको अवधिलाई विकास निर्माणको सिजन मानिँदै आएको छ । सरकारले अवैध क्रसर उद्योग बन्द गराएपछि गिट्टी बालुवाको अभाव छ । उत्पादन ठप्प भएपछि.निर्माण कार्य पनि प्रभावित भएको छ ।
हाल देशभरका करिब ८० प्रतिशत निर्माण कार्य प्रभावित भएको बताइएको छ। सर्वोच्च अदालतले २०७७ चैत ९ गते मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न आदेश दिएको थियो । व्यवसायीले स्थानीय प्रशासनलाई प्रभावित पारेर निरन्तर क्रसर उद्योग संचालन गर्दै आएको थियो ।

