बैंकको खाता खोल्न नुवाकोट पञ्चकन्या ५ भद्रुटारका वडाध्यक्ष नागरिकको घरघरमा
नुवाकोट,माघ ५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका वडाध्यक्ष्य माधब सिटौला स्थानीय नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण सहज तुल्याउन घरघरमा पुगेका छन् ।
बिहीबार एक सूचना जारी गर्दै वडाध्यक्ष्य सिटौलाले सेवा क्षेत्रका विभिन्न स्थानका नागरिकलाई पायक पर्ने बैंक ज्योति विकास बैंकमा खाता खोल्न घरघरमा पुगेका हुन् ।
सुरक्षाभत्ताका लाभग्राहीले यस अघि गाडी रिजर्भ गरी खरानीटार पुग्नुपर्ने बाध्यता थियोे । भौगोलिक कारण गाउँपालिकाबाट प्राप्त सेवा सुविधा समेत पर्याप्त हासिल गर्न नसकेको भद्रुटारमा गाउँमै खाता खोल्न र भत्ता बुझ्न पाउने सुन्दा हर्षित भएका छन् ।
वडाध्यक्ष्य सिटौलाका अनुसार साविक वडाहरुमा पुगी लाभग्राहीको खाता खोल्न बैंकका कर्मचारी समेत खटाइएको छ । साविक १ मा रातोघर, २ मा राम्चेको चौतारी, ३ मा आधारभूत विद्यालय, ४ मा फुर्केसल्ला विद्यालय, ५ मा मिश्राको पधेरो, ७ र ६ साविक वडाका लागि ठाटीको डिल, ८ का लागि सुवेदी टोल, ९ मा महिला भवन कायम गरिएको छ । भत्ताका लागि हैरानी महसुस गरेका स्थानीय गाउँमै सेवा पाएकाले हर्षित भएका छन् ।
गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता ५३ लाख चोरीको नाटक गरी हराएपछि त्यस्को असर सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई परेको थियोे ।

