मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर पर्यटकीय गन्तव्य बन्दै



मकवानपुर,माघ ८ । मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको छ । समुन्द्री सहतदेखि १ हजार ८ सय ५८ मिटर उचाई स्थित डब्लु डाँडामा रहेको लटारम्मेश्वर जिल्लाको बकैया गाउँपालिकाको १२ नम्बर वडा र भीमफेदी गाउँपालिकाको ८ नम्बर वडाको सिमानामा पर्छ ।

महाभारत पर्वत श्रृङ्खलामा रहेको लटारम्मेश्वरबाट गणेश, मकालु लगाएतका हिम श्रृङ्खला सजिलै देख्न सकिन्छ । छिन् भरमै परिवर्तन हुने यहाँको चिसो हुस्सु/कुहिरो मौसमले र यहाँबाट देखिने हिम श्रृङ्खलाले जो कोही पर्यटकको मन लोभ्याउँछ ।

पौराणीक कथा अनुसार भगवान महादेवले आफ्नो पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरिर बोकर हिड्ने क्रममा सतिदेवीको जटा (टाउकोको कपाल ) उक्त स्थानमा झरेर पतन भएको किम्बदन्ती रहेको छ ।

हिमवत्खण्डको १०४ अध्यायमा लटारम्मेश्वर भगवान शिवको वर्णन छ । यही स्थानमा भगवान शिवले तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाएर ताण्डव नृत्य लोकमा प्रचार गरेकोले यहाँको नामकरण लटारम्मेश्वर महादेव भएको पौराणीक कथा छ ।

पछिल्लो समय यहाँ काठमाडौं, भक्तपुर, ललितपुर लगाएतका जिल्लाहरुका आन्तरिक पर्यटकको आइरो लागेपछि यसलाई धार्मीक पर्यटकीय स्थल पर्यटन विकास गर्न र प्रवद्र्धन गर्न दुबै गाउँपालिकाले चोसो दिएका छन् । बकैया र भीमफेदी दुबैले लटारम्मेश्वरलाई प्रर्बद्धन गर्न पालिकाको नीति तथा कार्यक्रममै समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्