काठमाडौं महानगरपालिकाले ३ महिनामा ९ हजार होर्डिङ बोर्ड हटायो
काठमाडौं,माघ १३ । काठमाडौं महानगरपालिकाले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो ।
महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।
महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि १ हजार ५ सय रुपैयाँ र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

